शनिबार, १८ माघ २०८२

अध्यक्षको सन्देश

जननी जन्मभूमिष्च स्वर्गादपि गरीयसी

प्रातः स्मरणीय पुर्खाको  अभूतपूर्व वीरता, साहस र गौरवको प्रतिकको रुपममा आदि कालदेखि सदासर्वदा स्वतन्त्र सार्वभौम रहिआएको राष्ट्र नेपाल विश्वमै अटल छ । गौरवशाली यो देशको राजनीतिक नेतृत्व भने दुरदर्शिता, विवेक, इमानदारी र जिम्मेवारी सहित मन, वचन र कर्मले राष्ट्रलाई सबल र समृद्ध पार्न मार्गनिर्देशन गर्दै नागरिकको सर्वतोमुखी उन्नयनमा समर्पित प्रणाली, रीतिथिती, विधि र व्यवस्था संस्थागत गर्नु पर्ने आफ्नो उत्तरदायित्व निर्वाह र कार्यक्षमता प्रदर्शनमा पूर्णतयाः असफल साबित भएको छ । यसरी राजनीतिक नेतृत्व आफ्नो कर्तव्यबाट च्युत हुँदा देश र जनता किंकर्तव्यविमूढ भई निसासिएको अवस्थामा छन् । सुन्दर, शान्त र उच्च संभावनायुक्त देश अहिले लथालिङ्ग र भताभुङ्ग बनेको छ । 

आफ्नो स्वार्थसिद्धिमा लिप्त यस्ता अनुत्तरदायी शासकहरुको मार्गदर्शक सिद्धान्त नै कविरिशरोमणिले तरुण तपस्वीमा वर्णन गरे जस्तो “मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरुँ, मै बाचुँ मै नाचुँ अरु सब मरुन् दुर्बलहरु” रहेकोले राज्यशक्तिको बेरोकटोक दुरुपयोग, भ्रष्टाचार, कुशासन, अन्याय, अत्याचार, असन्तोष र अशान्ति व्याप्त भएको हो । देशमा रहेका श्रोत, साधन र धरोहरको संरक्षण र सदुपयोग गर्न असमर्थ भ्रष्ट शासक आफ्नो स्वार्थमा  यिनको दुरुपयोग गर्दै विश्वको विशिष्ट र उत्कृष्ट सम्भावनाको देशलाई विश्वकै अत्यधिक परनिर्भर, उच्च वेरोजगारयुक्त र निर्धनतम राष्ट्रको सूचीमा पु¥याएका छन् । 

यो भ्रष्ट मण्डलीले भ्रष्टाचारमा अझै लिप्त हुन तथा त्यस अपराधवाट भविष्यमा समेत जोगिन सहज हुने गरी देश र जनतालाई झुक्याई कानुन बनाउने र संशोधन गर्ने गर्दछन् । अर्को शब्दमा, आफूले भ्रष्टाचार गर्ने र त्यसबाट छलिने अभिप्रायले नै कानुन बनाउँदछन् । उदाहरणको लागि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्यमा २०४७ को संविधान र २०६३ को अन्तरिम संविधानमा “अनुचित कार्य र भ्रष्टाचार” को अनुसन्धान गर्ने रहेकोमा २०७२ को संविधानमा “अनुचित कार्य” हटाई भ्रष्टाचारमा मात्र सीमित गरिनु र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४ (ख) मा मन्त्रीपरिषद्ले गर्ने नीतिगत निर्णयमा अख्तियार नलाग्ने व्यवस्था हुनु तर नीतिगत निर्णयको परिभाषा ऐनमा नदिइनुले संविधान र ऐन निर्माताको मूल तात्पर्य नै राज्यदोहन, भ्रष्टाचार र अनियमितता भएको प्रमाणित हुन्छ । यसरी, रक्षक नै भक्षक रहेको अवस्थामा देश र जनताको हित र कल्याण होला भनेर नागरिक कसरी विश्वस्त हुने ? 
      
एकातिर बेतिथि, भ्रष्टाचार र कुशासनको यो ताण्डव नृत्य अर्कोतिर देशको विकासको दारुण अवस्थासँगै नागरिकलाई थामी नसक्नु कर र ऋणको भार (२०८२ पुस–मसान्तमा प्रतिव्यक्ति सरकारी ऋणभार रु.९० हजार) । विकराल, विकृति र विसँगतिको यस्तो ताण्डव हेरेर चुपचाप बस्ने अवस्था नरहेकोले मुलुकको रक्षा र स्वाभिमान सुदृढ गर्न तथा जनताको अवस्था सुधार गर्न हामी अघि बढ्नु पर्ने बाध्यता आयो । साथै, अभिव्यक्ति स्वतन्त्रताको हनन, देशमा व्याप्त कुशासन, भ्रष्टाचार, बेथिति, अनियमितता, परनिर्भरता र बेरोजगारीको अन्त्य तथा कानुन निर्माण र कार्यान्वयनमा राज्यका अँगको विशिष्टता, सन्तुलन, नियन्त्रण र पृथकीकरणको सुनिश्चितता गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था सहित शासकीय स्वरुपमा आमूल परिवर्तनको आवश्यकता रहेको छ । भ्रष्ट तानाशाही शासक मण्डलीले सयौँ बालबालिकाको नरसंहार र अँगभँग गराएको भाद्र २३, २०८२ को जेनजी विद्रोहको माग पनि यही रहेको थियो ।    

यस्तो विषम परिस्थितिमा देशको गरिमा उच्च राख्न, शासकीय स्वरुपमा आवश्यक पुनर्संरचना गर्न, सुव्यवस्था कायम गरी देशलाई उत्तरोत्तर प्रगतिपथमा अगाडि बढाउन र नागरिकका समस्याको उपयुक्त र दिगो समाधानको लागि देशभक्त र इमानदारहरुको नयाँ राजनीतिक शक्तिको उदय हुनु अपरिहार्य थियो । यही कार्य पूरा गर्न राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी, राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित अन्य समाजसेवी, राजनीतिज्ञ र अभियन्ताहरु समेतको मिति २०८२/८/१ को एकीकृत भेलाले नेपाली सेनाका पूर्व उपरथी श्री सुरेश कुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी स्थापना गरी निर्वाचन आयोगमा मिति २०८२/८/५ मा दल दर्ताको निवेदन पेस भएकोमा मिति २०८२/८/९ मा दर्ता भई आफ्ना निर्दिष्ट राजनीतिक गतिविधिहरु संचालन गर्दै आइरहेकोछ । 

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रको सीमा रक्षा, राष्ट्रहित, देश तथा नागरिक सर्वोच्चता र सुरक्षा, आर्थिक समुन्नति र समानता, शिक्षा, स्वास्थ्य र रोजगारीबाट देश र नागरिकको सर्वतोमुखी विकासका लागि केन्द्रित रहने यस पार्र्टीको मूल अभीष्ट हो । साथै, विविधताबिच सामाजिक–साँस्कृतिक ऐकबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्दै समतामूलक र सहभागितात्मक सिद्धान्तका आधारमा जनताको प्रतिस्पर्धात्मक बहुदलीय नागरिकमैत्री शासन प्रणाली स्थापना गर्नु पार्टीको अर्को जिम्मेवारी हो । सुशासन र नेपालवादको आधारबाट उत्पादनमुखी र रोजगारमूलक मिश्रित अर्थव्यवस्था मार्फत नेपालका अतुलनीय साधनश्रोतको उपयुक्त संयोजन र कुशल उपयोग हुने वातावरण निर्माण गर्दै आर्थिक समृद्धिको समन्यायिक वितरणको सुनिश्चितता सहित सुविधाराज्य हुँदै समवाद हासिल गनु पार्टीको कर्तव्य हो ।

जनकल्याणकारी, सुद्दृढ र समावेशी राज्यव्यवस्था स्थापना गर्ने, राज्यका अँगहरुको स्वायत्त र आ–आफ्नो विशिष्ट भूमिका सुनिश्चित गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, सम्पूर्ण नागरिकलाई समान अवसर र पहुँच पु¥याउंदै विद्यमान आर्थिक एवम् सबैखाले असमानताको अन्त्य गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र, उन्नतिशील, समृद्ध एवम् समन्यायिक बनाउने र संयुक्त राष्ट्र सँघको बडापत्र तथा असंलग्नताको सिद्धान्तका आधारमा अन्तरराष्ट्रिय संबन्ध प्रवद्र्धन गर्ने पार्टीको उद्देश्य हो ।

राष्ट्रलाई सबल र सुद्दृढ बनाउने, अर्थतन्त्रलाई उच्च गतिमा उन्नतिशील गराउने र नागरिकलाई सुखी र समृद्ध पार्ने उपरोक्त दर्शन, सिद्धान्त र विचारधारालाई व्यवहारमा रुपान्तरण गर्न आफ्नो साथ र सहयोग दिई जय मातृभूमि पार्टीलाई सघाउन जनता जनार्दनलाई हार्दिक अपिल गर्न चाहन्छु ।

जय मातृभूमि ! जय सुशासन !! जय नेपालवाद !!!

सुरेश कुमार कार्र्की
अध्यक्ष
९८४३२७४४२०
माघ १,२०८२